|
|
आसफोर्डमा नेपालीलाई समाधिस्थल
24/07/2009
पोपिराज राई
केण्ट/ सगरमाथा गोर्खा नेपलिज कम्युनिटी आसफोर्ड, केण्टले गत १७ जुलाई शुक्रबार स्थानीय बरो काउन्सिलबाट आफ्नो कम्युनिटीका लागि छुट्टै समाधिस्थल प्राप्त गर्न सफल भएको छ । सन् २००६ सालदेखि तत्कालिन कम्युनिटीका पदाधिकारीहरुले सो समाधिस्थलका लागि प्रयासको थालनी गरेका थिए । यसै कार्यलाई निरन्तरता दिँदै सगरमाथा गोर्खा नेपलिज कम्युनिटीले एउटा महत्वपूर्ण र सम्वेदनशील कार्यलाई पुर्णता दिन सफल भएको छ ।
नेपाली समुदायका लागि छुट्याइएको यो समाधिस्थल सम्भवतः बेलायतमा पहिलो हो । बेलायतीहरुबाट प्राप्त यो सम्मान र पहिचानको कदर गर्नु गर्वको कुरा भएको सो कम्युनिटीले जनाएको छ । सन् २००९ ले सगरमाथा गोर्खा नेपलिज कम्युनिटीका लागि दुःखद समाचार लिएको आएको थियो । कम्युनिटीका अति मिलनसार र सहयोगी सदस्य पि्रयकुमार राईको देहावसान १ जनवरी २००९ मा भएको थियो । उहाँको सम्झनामा स्मृतिबेञ्च स्थानीय भिक्टोरिया पार्कमा र हेडस्टोन यही समाधिस्थलमा १७ जुलाईमा राखी गोर्खा नेपाली समाधिस्थलको औपचारिक उदघाटन गरिएको थियो । उदघाटन समारोहको सुरुमा कम्युनिटीका महासचिव श्री लिम्बुले उपस्थित आगन्तुकलाई स्वागत गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो । स्थानीय आसफोर्ड बरो काउन्सिलका मेयर जोन होल्यान्डले शुक्रबार बिहान ११:०० बजे बाईब्रूक सिमेटरी, केनिङ्टन, आसफोर्डस्थित उक्त गोर्खा नेपाली समाधिस्थलको उद्घाटन गर्नु भएको थियो ।
कम्युनिटीका अध्यक्ष गोम्बा शेर्पाले सम्पूर्ण महानुभावहरुलाई सहयोग र उपस्थितिका लागि धन्यवाद ज्ञापन गर्नु भएको थियो । उहाँले स्थानीय बरो काउन्सिलका मेयरप्रति आभार प्रकट गर्नु भयो । यसैगरी गत जुन १३ मा सगरमाथा गोर्खा नेपाली कम्युनिटी आसफोर्डले उसका सदस्यहरुलाई स्थानीय वाइ नेशनल नेचर रिजर्भ आसफोर्ड, केण्टको जानकारीमुलक रमणीय भ्रमणका साथै फेमिली डे आउटिङ कार्यक्रममा सहभागी गराएको थियो । साउथ इस्ट रिजन नेचुरल इङ्ल्यान्डकी कम्युनिटी लिएजन एड्भाइजर श्रीमती एमा गि्रफिथ्सले स्थानीय सगरमाथा गोर्खा नेपाली कम्युनिटीको लागि उक्त कार्यक्रमको आयोजना गर्नु भएको थियो । सगरमाथा गोर्खा नेपाली कम्युनिटीका लागि उक्त नेचुरल इङ्ल्यान्डको मातहतबाट दुइ वटा बस र चियापानको पनि व्यवस्था गरिएको थियो ।
सो जानकारीमुलक फेमिली डे आउटिङ कार्यक्रममा बालबच्चाहरुसहित ६५ जना सदस्यहरुले भाग लिएका थिए । जानकारी मुलक सो भ्रमण कार्यक्रम दिउसो १ः३० बजे सुरु भई सााझ ५ बजे अन्त्य भएको थियो ।भ्रमणको सुरुमा श्रीमती गि्रफिथ्सले स्थानीय नेशनल रिजर्भ सबैको हो भन्दै यसको उपभोग र बचाउ गर्नु पनि सबैको जिम्मेवारी रहेको वताउनुभयो । उहाँले सो नेचुरल रिजर्भको बचाउका लागि स्थानीय किसानले खेलेको भूमिका बारे उल्लेख गर्दै त्यहा संरक्षित गरिएका विभिन्न किसिमका झारपात र बोट बिरुवाहरुको अवलोकन गराउनु भएको थियो । भ्रमणको अन्तमा श्रीमती गि्रफिथ्सले भविष्यमा यस्ता कार्यक्रममा सहभागी भई यस क्षेत्रको सम्बर्द्धन, उपभोग र सुरक्षा गर्न पनि आग्रह गर्नुभयो ।
nepali sandesh
|

|
|
|